धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर निष्काशनको लागि सन्राइज क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त भएको छ । लघुवित्तले निष्काशन गर्न लागेको ३,००,००० कित्ता साधारण शेयरका लागि सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको हो ।
लघुवित्त वित्तीय संस्थाको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मीनबहादुर बोहरा तथा सनराइज क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठकाबीच सनराइज क्यापिटल लिमिटेड, कमलपोखरी, काठमाडौँमा बुधबार द्धिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
धौलागिरी लघुवित्त वित्तीय संस्था लिमीटेड राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्थाको ईजाजपत्र प्राप्त गरी २०७५/११/०१ देखी वित्तीय कारोबार गर्दै आइरहेको यस वित्तीय संस्थाले बि.स. २०७८ पुस मसान्त सम्ममा नेपालका २० जिल्लामा ४६ वटा शाखा कार्यालयहरु मार्फत कुल १९१ जना कर्मचारी परिचालन गरि ३४,४३८ सदस्यहरुलाई आफ्नो लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ ।
सोही अवधिसम्ममा वित्तीय संस्थाको कुल कर्जा लगानी तर्फ रु. १ अर्ब ४४ करोड, निक्षेप संकलन तर्फ रु. ६२ करोड १४ लाख रहेकोमा अन्तर बैंक सापटी रु.६१ करोड ८० लाख रहेको छ ।
हाल चुक्ता पूँजी ७ करोड रहेकोमा सार्वजनिक शेयर निष्काशन भए पश्चात् रु. १० करोड चुक्ता पुजि कायम हुनेछ । हाल जगेडा तथा कोषहरु तर्फ कुल रु.१० करोड ३८ लाख रहेको छ । आर्थिक बर्ष २०७७।०७८ को आषाढ मसान्त सम्ममा वित्तीय संस्थाको वितरण योग्य मुनाफा रु.२ करोड ६० लाख रहेकोमा पुष मसान्त सम्मा आईपुग्दा उक्त वितरण योग्य मुनाफा रु.४ करोड ९ लाख पुगेको छ ।
आर्थिक बर्ष २०७७।०७८ को मसान्तमा प्रतिशेयर आम्दानी रु.५०।१२ भन्दा बढि कायम गरेकोमा पुष मसान्त सम्ममा आइपुग्दा रु.६१।४५ प्रतिशेयर आम्दानी कमाउन सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले जानकारी गराएका छन् ।