धाैलागिरी लघुवित्त वित्तीय संस्थाकाे नँया अध्यक्षमा सिर्जना थापा चयन

धाैलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडकाे मिति २०८० चैत्र १ गते सम्पन्न भएकाे पाँचाै वार्षिक साधारण सभाबाट नव निर्वाचित संचालक समितिकाे पहिलाे बैठकले नँया अध्यक्ष चयन गरेकाे छ । मिति २०८० चैत्र २ गते वरिष्ठतम संचालक चेतनारायण सापकाेटाकाे अध्यक्षतामा बसेकाे  नँया संचालकहरुकाे बैठकले सिर्जना थापालाई अध्यक्षकाे रुपमा चयन गरेकाे हाे । नव नियुक्त अध्यक्ष तथा नव नियक्त संचालकहरुलाई साेहि दिन प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम लगायत केन्द्रिय कार्यालयमा कार्यरत कर्मचारीहरुले अविर र खाडा लगाएर स्वागत गर्नुभयाे । नव निर्वाचित अध्यक्ष सिर्जना थापाले पद भर ग्रहण गर्दै अध्यक्षकाे पदसम्म ल्याउन सहयाेग गर्नुहुने सम्पूर्णलाई आभार प्रकट गर्नुभयाे । साथै संस्थालाई थप उचाईमा पुर्याउनकाे लागी संचालक समिति, व्यवस्थापन समिति, तथा कर्मचारीहरुकाे भुमिका महत्वपुर्ण हुने भएकाेले सबैलाई जिम्मेवार पूर्वक इमानदारी, प्रतिवद्ध, एवम् कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्नुपर्ने भनाई राख्नुभएकाे थियाे ।

पाँचौँ वार्षिक साधारण सभाले ६ जना नँया सञ्चालक समिति निर्विरोध निर्वाचित गरेको थियाे । जसमा संस्थापक समूह बाट सुमन प्रसाद श्रेष्ठ, सिर्जना थापा, जिवन आचार्य र शालिक राम शर्मा सहित ४ जना र सर्वसाधारण समूहबाट २ जना गणेश पौडेल र चेत नारायण सापकाेटा रहेका थिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३  अनुसार साधारण सभाबाट ६ र १ जना स्वतन्त्र सञ्चालक संचालक समितिले नियुक्ति गर्नुपर्ने व्यवस्था वमोजिम अब १ जना  स्वतन्त्र  सञ्चालक नियुक्त गर्न बाँकि रहेको छ । 

नव निर्वाचित अध्यक्ष तथा संचालकहरुले नेपाल राष्ट्र बैकबाट सपथ लिन भने बाँकि नै रहेकाे छ ।